२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन गठन नभएको भन्दै आज (मंगलबार) पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।
आजको बैठकमा रास्वपाका सांसद विराज भक्त श्रेष्ठ र राप्रपाका दीपक बहादुर सिंहले धारणा राखेपछि बैठक बहिष्कार गरिएको हो। दुवै सांसदले भिजिट भिसा प्रकरणमा सरकार गम्भीर नदेखिएको र छानबिनका लागि आयोग गठन नगरेकोप्रति आपत्ति जनाउँदै बैठकमा सहभागी नहुने घोषणा गरे।
सांसद श्रेष्ठले भने, “हामी जबसम्म भिजिट भिसा प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन हुँदैन, तबसम्म संसदमा हाम्रो आन्दोलन जारी रहनेछ।”
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि नै संसदमा भिजिट भिसा प्रकरणका विषयमा विरोध जनाउँदै आएका छन्। उनीहरूले यस मुद्दालाई राज्य प्रणाली, सुरक्षा व्यवस्था र वैदेशिक सम्बन्धसँग जोडिएको गम्भीर विषय ठहर गर्दै छानबिन आयोग गठन अनिवार्य रहेको बताउँदै आएका छन्।
संसदको बैठक पटक–पटक बहिष्कार भइरहेकाले संसदीय प्रक्रिया प्रभावित हुन थालेको भन्दै सभामुख देवराज घिमिरेले राजनीतिक सहमतिबाट समाधान खोज्न दलहरूलाई आग्रह गर्दै आएका छन्।
भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन नभएसम्म दबाबमूलक आन्दोलन जारी रहने संकेत दिंदै रास्वपा–राप्रपाले सरकारमाथि दवाब बढाइरहेका छन्।















