प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालनमा रहेका पेट्रोलियम अटो रिक्सा चालकहरू पछिल्लो समय गम्भीर समस्यामा परेका छन्। ब्याट्रीबाट चल्ने अटो रिक्साहरूको अनियन्त्रित सञ्चालनका कारण आफ्नो व्यवसाय धरापमा परेको उनीहरूको गुनासो छ।

पेट्रोलियम अटो चालकहरूका अनुसार, घण्टाघर र रेल्वे रोड लगायतका व्यस्त क्षेत्रमा उनीहरूका लागि निश्चित पार्किङको व्यवस्था छ। तर, ब्याट्री रिक्सा चालकहरू भने सडकमै यात्रु चढाउने र ओराल्ने गर्छन्, जसले गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ। एक स्थानीय चालकले भने, “हामी ५–६ जना यात्रु लिएर मात्र चलाउँछौँ, तर ब्याट्री अटो रिक्सा चालकहरू ३–४ जनालाई मात्र लिएर मितेरी पुलसम्म पु¥याउँछन्।“

घट्दो आम्दानी र चिन्ता

ब्याट्री रिक्साको संख्यामा भएको वृद्धिले पेट्रोलियम अटो चालकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ। पहिले दिनमा ५–६ टिप चलाउने चालकहरूलाई अहिले २–३ टिप पाउन पनि मुस्किल भएको छ। एक अर्का चालकले गुनासो गर्दै भने, “पहिले दैनिक १५०० देखि २००० रुपैयाँसम्म आम्दानी हुन्थ्यो, अहिले त १००० रुपैयाँ पनि मुस्किलले पुग्छ।“

पेट्रोलियम अटो चालकहरूका अनुसार, वीरगञ्जमा करिब १२० वटा पेट्रोलियम अटो रिक्सा सञ्चालनमा छन् भने ब्याट्री रिक्साको संख्या ३००० को हाराहारीमा पुगिसकेको छ। पेट्रोलियम अटोमाथि लागू भएका नियमहरू ब्याट्री रिक्सालाई किन लागू हुँदैन भन्ने प्रश्न उनीहरूले उठाएका छन्।

सम्बन्धित निकायको बेवास्ता

यस समस्याबारे अटो इन्चार्जलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस समाधान नआएको चालकहरूको भनाइ छ। उनीहरू महानगरपालिका र ट्राफिक कार्यालयले उचित व्यवस्थापन नगरे पेट्रोलियम अटो चालकहरूको दैनिकी थप प्रभावित हुने चिन्ता व्यक्त गर्छन्। यदि यस विषयमा समयमै ध्यान नदिए, वीरगञ्जको यातायात क्षेत्रमा थप अव्यवस्था उत्पन्न हुन सक्ने देखिन्छ।

 


सम्बन्धित समाचार