२० साउन, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले माओवादी केन्द्रको एकता प्रस्तावबारे निर्णय गर्न पार्टीको केन्द्रीय समिति बैठक बोलाउने भएको छ। चार दिन लामो बैठकपछि सोमबार नेकपा (माओवादी केन्द्र) ले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने र त्यसका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो।
सो निर्णयको जवाफमा विप्लव निवास हरिसिद्धिमा बसेको स्थायी समितिको अनौपचारिक बैठकले एकताप्रति सकारात्मक धारणा राख्दै आधिकारिक निर्णय केन्द्रीय समितिबाट लिने निष्कर्ष निकालेको छ।
स्थायी समिति सदस्य कर्णजित बुढाथोकीका अनुसार, माओवादीको निर्णयलाई पार्टीले सकारात्मक रूपमा लिएको छ। ‘उहाँहरूले संस्थागत निर्णय गर्नुभयो, अब हामीले पनि संस्थागत निर्णय दिनुपर्छ,’ उनले भने, ‘व्यक्तिगत धारणा होइन, बैठकबाट निर्णय आउँछ।’
भदौ २२ देखि नेकपाको केन्द्रीय समिति बैठक
नेकपाको केन्द्रीय समिति भदौ २२ गतेदेखि बस्नेछ। पार्टीमा हाल १३५ सदस्यीय केन्द्रीय समिति, ७ सदस्यीय स्थायी समिति, र २९ सदस्यीय पोलिटब्युरो रहेको छ। बुढाथोकीका अनुसार, माओवादी केन्द्रले पहिलो पटक नाम लिएर एकताको प्रस्ताव गरेको हुँदा त्यसबारे गम्भीर छलफल आवश्यक देखिएको हो।
विप्लवको ब्रिफिङ : समाजवादी मोर्चामार्फत एकता सुदृढ गर्ने प्रयास
बैठकमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समसामयिक राजनीतिक परिदृश्यबारे ब्रिफिङ गरेका थिए। उनले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको प्रयास जारी रहेको र समाजवादी मोर्चामार्फत त्यसलाई अझ मजबुत बनाउन पहल भइरहेको जानकारी गराए।
प्रचण्ड–जनार्दन विवादलाई आन्तरिक र प्राविधिक भनियो
बैठकमा माओवादी केन्द्रमा देखिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक संघर्षबारे पनि छलफल भएको थियो। बुढाथोकीका अनुसार, त्यो विवाद राजनीतिक भन्दा पनि प्राविधिक प्रकृतिको भएको निष्कर्षमा पुगेको बैठकले त्यसमा समय खर्चिन नपर्ने निष्कर्ष निकालेको छ।
‘उहाँहरू आज विवाद गर्नुहुन्छ, भोलि मिलिहाल्नुहुन्छ। त्यसैले त्यो विषयलाई लिएर हामीले धेरै समय खेर फाल्न जरुरी छैन,’ बुढाथोकीले भने।















