२० साउन, काठमाडौँ । नेपालमा अहिले २४ वटा क्यासिनो सञ्चालनमा रहेको पाइएको छ। पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि यी क्यासिनोहरूले नवीकरण गरेका छन्।
यीमध्ये अधिकांश क्यासिनो पाँचतारेसहित विभिन्न होटल परिसरमा सञ्चालित छन्। विभागका अनुसार काठमाडौंमा होटल मल्ल, मेरिअट, सोल्टी र अलफ्टजस्ता होटलमा क्यासिनो सञ्चालनमा छन्।
यसैगरी, झापाको होटल मेची क्राउन र द किङ्सबरी, रुपन्देहीको होटल टाइगर वान, भैरहवाको नान्स, निर्वाणा, मौर्य र एसियन होटेल, नेपालगञ्जको इम्पेरियल इन्टरटेन्मेन्ट, ज्याकपट गेमिङ सेन्टर, ओम क्रयम्बकम इन्टरटेन्मेन्ट, सिटी प्यालेस र स्नेहा होटलमा क्यासिनोहरू नवीकरण भएका छन्। कास्की, कपिलवस्तु, पर्सा र विराटनगरका होटलहरूमा पनि क्यासिनो सञ्चालनमा छन्।
नयाँ नियमावलीका प्रमुख प्रावधानहरू
सरकारले हालै क्यासिनो नियमनका लागि नयाँ नियमावली ल्याएको छ। यसले क्यासिनो सञ्चालनका लागि नयाँ मापदण्ड तोकेको छ।
- सुरक्षा मापदण्ड: अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र क्यासिनो खोल्न चाहनेले सुरक्षा योजनासहित जिल्ला सुरक्षा समितिको सिफारिस लिनुपर्नेछ। क्यासिनोमा कम्तीमा २० जना तालिमप्राप्त सुरक्षाकर्मी र सीसीटीभीको ६ महिनासम्मको फुटेज भण्डारण गर्न सकिने व्यवस्था अनिवार्य गरिएको छ।
- चुक्ता पुँजी: ठूला क्यासिनोका लागि चुक्ता पुँजी ३० करोड र साना क्यासिनोका लागि २० करोड रुपैयाँ पुर्याइएको छ। पहिलेदेखि सञ्चालनमा रहेका क्यासिनोले २०८५ चैत मसान्तभित्र यो मापदण्ड पूरा गर्नुपर्नेछ।
- रोजगारी र शुल्क: साना क्यासिनोले न्यूनतम ५० जना र ठूला क्यासिनोले १५० जनालाई रोजगारी दिनुपर्नेछ। इजाजतपत्र दस्तुर ठूलाका लागि १५ लाख र सानाका लागि १० लाख रुपैयाँ तोकिएको छ।
- अन्य नियमहरू: १८ वर्षभन्दा कम उमेरका व्यक्तिले क्यासिनो सञ्चालन अनुमति पाउने छैनन्। एक होटलमा एकभन्दा बढी क्यासिनो चलाउन पाइने छैन। नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाइएको छ र नेपाली संस्कृति तथा सामाजिक मर्यादा प्रतिकूल हुने गतिविधि गर्न पाइने छैन।

















