२० साउन, विराटनगर । कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा माघदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गर्दै ७ जना प्रत्यक्ष चोरीमा संलग्न व्यक्ति र चोरीका सामान किन्ने ५ जना व्यवसायीलाई सार्वजनिक गरेको हो।
प्रादेशिक अनुसन्धान समूह विराटनगरको टोलीले समन्वयात्मक रुपमा अनुसन्धान गरी गिरोह नियन्त्रणमा लिन सफल भएको जानकारी प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दिए।
२२ स्थानमा ट्रान्सफर्मर चोरी, २.५ करोडको क्षति
२०७८ माघ १५ मा मोरङको बुढीगंगा गाउँपालिकाबाट सुरु भएको चोरीको क्रम मोरङमा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थान गरी कुल २२ स्थानमा ट्रान्सफर्मर चोरी भएको प्रहरीको तथ्याङ्क छ।
चोरीमा प्रयोग भएका ५ वटा मोटरसाइकल, १ पिकअप गाडी, ३६८.५ केजी तामाको तार, औजार, मोबाइल लगायतका सामाग्रीहरू पनि प्रहरीले बरामद गरेको छ। चोरीबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
कृषक र खानेपानी योजनामा प्रत्यक्ष असर
चोरी भएका ट्रान्सफर्मरमध्ये अधिकांश खानेपानी तथा डिप बोरिङ योजनासँग सम्बन्धित रहेका कारण किसानहरूको रोपाइँ प्रभावित भएको जनगुनासो आएको प्रहरीको भनाइ छ।
ट्रान्सफर्मर पोलमै पक्राउ परे अर्जुन थारु
२०७८ साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ स्थित ट्रान्सफर्मरमा चढिरहेका ग्रामथान गाउँपालिका–४ का अर्जुन कुमार थारुलाई प्रहरीले ट्रान्सफर्मर पोलमै शंकास्पद अवस्थामा पक्राउ गरेको थियो।
त्यसपछि सुरु गरिएको विस्तृत अनुसन्धानमा ३५ जना सादा पोसाकका प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो।
पक्राउ परेका मुख्य अभियुक्तहरू
प्रहरीले सार्वजनिक गरेको चोरीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा ग्रामथान ४ का अर्जुन कुमार माझी (४२ वर्ष) , ग्रामथान ५ का इरज धामी (३१ वर्ष), लविपुर, दुहबी–३, सुनसरी अनुज विश्वास (३५ वर्ष),बेलवारी ४ का अर्जुन चौधरी (२६ वर्ष), भारत घर, हाल मलाटी, दुहबी–४, सुनसरीका आलम मिया (३४ वर्ष), बेलवारी ३ का रञ्जित तामाङ (२७ वर्ष) र दुहबी–२, सुनसरी प्रयाग कुमार खाँ चौधरी (३९ वर्ष) का रहेको प्रहरीले जनाएको छ।
चोरीको सामान किन्ने व्यवसायीहरू विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, अजय कुमार साह, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन्।
प्रयोग गरिएका सवारी साधनहरू ५ वटा मोटरसाइकल ९प्र १–०२–०५० प ७०९५, प ५५८०, प ३०४९, को२प ९२९०, को २९ प ४५४४०,१ थान पिक अप गाडी (को१ च ७७२९) गाडी समेत प्रयोग गरी समान ढुवानी भएको पाइएको कार्कीले बताए। विभिन्न स्थानबाट ३६८.५ केजी तामाको तार बरामद गरेको छ।
प्रहरीले चोरीको घटना रोकथामका लागि प्रविधिको प्रयोग बढाउने, समुदायसँग समन्वय गरेर निगरानी बढाउने र व्यापारीहरूलाई पनि निगरानीमा राख्ने जनाएको छ















