२० साउन, मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थन सहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए। उनको शपथ आज साँझ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
बानियाँको राजनीतिक यात्रा
२०२७ साल भदौ १५ गते मकवानपुरको हर्नामाडी–४, दियावतीमा जन्मिएका बानियाँ लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय छन्। सशक्त संगठनकर्ता, स्पष्ट धारणा राख्ने र खरो स्वभावका नेता बानियाँ पार्टीभित्र निरन्तर सक्रिय हुँदै नेतृत्व तहमा पुगेका हुन्।
उनले २०४४ सालबाट सक्रिय राजनीति सुरु गरेका थिए। त्यसयता नेपाल विद्यार्थी संघ मकवानपुरका सहसचिवदेखि तरुण दल जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेसको महासमिति सदस्य, जिल्ला सभापति र राज्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
बानियाँ २०७० मा संविधानसभामा निर्वाचित, २०७४ मा प्रदेशसभा सदस्य र काँग्रेस संसदीय दलको नेता बनेका थिए। उनले २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र त्यसपछि गृह राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।
दलभित्रैको नेतृत्व संघर्षमा सफलता
आफ्नै पार्टीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलविरुद्ध अविश्वासको प्रस्ताव अघि सार्दै नेतृत्व परिवर्तन गराउने रणनीतिमा सफल बानियाँको यो कदमलाई राजनीतिक परिपक्वता र संगठनात्मक पकडको उदाहरणका रूपमा हेरिएको छ।
सामाजिक योगदान
राजनीतिक जीवनसँगै बानियाँ सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, त्रिखण्डेश्वर महादेव संरक्षण समिति र मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न जिम्मेवारीमा रहेर योगदान पु¥याइसकेका छन्।
नयाँ मुख्यमन्त्रीको रूपमा बानियाँ अब बागमती प्रदेशको नेतृत्व सम्हाल्दै छन्, जहाँ स्थायित्व, विकास र प्रभावकारी सुशासनप्रति उनको दृष्टिकोण अब परीक्षणमा पर्नेछ।















