Logo

२० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मणवामा वीरगञ्ज नर्सिङ क्याम्पसले मंगलबार एक स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य समुदायमा विद्यमान स्वास्थ्य समस्याबारे जनचेतना फैलाउनु र विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।

B.Sc. Nursing 1st Year का विद्यार्थीहरूले Community Health Nursing Concurrent Field अन्तर्गत लक्ष्मणवा क्षेत्रका २५० घरधुरीमा ५ हप्तासम्म गरेको घरदैलो भ्रमणका क्रममा संकलित स्वास्थ्यसम्बन्धी समस्याहरूलाई आधार मानेर यो प्रदर्शनी आयोजना गरिएको थियो।

क्याम्पस प्रमुख डा. कल्पना पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमको सञ्चालन प्राध्यापकद्वय रश्मी घिसिङ्ग र इन्दिरा चौरसियाको निगरानीमा गरिएको थियो। प्रदर्शनीमा विद्यार्थीहरूले पोषण, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, रोग रोकथाम, प्राथमिक उपचार र मानसिक स्वास्थ्य जस्ता विभिन्न विषयमा आकर्षक चित्र, चार्ट र मोडलहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहयोगी हातहरू नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईं विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, बिपिन शाह, शेष हाजरा, विजय कुमार बल लगायतका व्यक्तित्वहरूको पनि महत्त्वपूर्ण सहयोग रहेको थियो।

स्थानीय बासिन्दा, अभिभावक, सामाजिक अगुवा र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई सफल बनाएको थियो। कार्यक्रमको समापनमा क्याम्पस प्रमुख डा. पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीलाई समुदायसँग जोड्दै शिक्षा र सेवाबीच सेतुको काम गर्ने बताए। सहभागीहरूले यस कार्यक्रमले विद्यार्थी र स्थानीय दुवैलाई लाभ पुगेको धारणा व्यक्त गरे।


सम्बन्धित समाचार