२० साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघको मधेश प्रदेश समितिले आफ्नो भवन निर्माणका लागि जनकपुरधाममा जग्गा प्राप्त गरेको छ। महासंघले गुठी संस्थानसँगको औपचारिक सम्झौतापछि जनकपुरमा रहेको चार कठ्ठा जग्गा लिजमा पाएको हो। यसले मधेश प्रदेशका पत्रकारहरूका लागि स्थायी र अत्याधुनिक पूर्वाधार निर्माणको बाटो खुलेको छ।
सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ र गुठी संस्थानबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुँवरले हस्ताक्षर गर्नुभयो।
यो जग्गा जनकपुरधाममा रहेको श्रीराम मन्दिर गुठी अन्तर्गत पर्दछ। सम्झौताअनुसार, महासंघले उक्त जग्गामा पत्रकारहरूका लागि आवश्यक पर्ने बहुउपयोगी र सुविधासम्पन्न भवन निर्माण गर्नेछ। यस जग्गाको वर्तमान बजार मूल्य करोडौँमा अनुमान गरिएको छ।
यस ऐतिहासिक सम्झौतापछि मधेश प्रदेशमा सञ्चारकर्मीहरूका लागि एउटा स्थायी र व्यवस्थित कार्यस्थल तयार हुने विश्वास गरिएको छ। यसले पत्रकारिता क्षेत्रको सुदृढीकरणमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। महासंघले उक्त भवनमा पत्रकारहरूको तालिम, कार्यशाला र अन्य पेशागत गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ।
हस्ताक्षर समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, गुठी संस्थानका प्रमुख इन्जिनियर शालिकग्राम सुवेदी लगायतको उपस्थिति थियो।















