२१ साउन, रौतहट । पारदर्शिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गरिए पनि रौतहट जिल्लाका विभिन्न पालिकामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अशक्त लाभग्राहीहरूले बैंकबाट भत्ता लिन कठिनाइ भोग्नु परेको गुनासो गरेका छन् ।
उनीहरूका अनुसार अधिकांश बैंकहरू न अपाङ्गतामैत्री छन्, न त वृद्धमैत्री । न बैंकको स्थान सहज छ, न त कर्मचारीहरूको व्यवहार सहयोगी । यी सबै कारणले गर्दा भत्ता लिन घण्टौँ लाइन बस्नुपरेको, शारीरिक पीडा झन बढेको र आत्मसम्मानमा चोट लागेको उनीहरूको भनाइ छ ।
राजदेवी नगरपालिका–३ का ७८ वर्षीय अनुठा राउत पक्षघातका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । त्रैमासिक सामाजिक सुरक्षा भत्ता लिन उनलाई बुहारीको सहारामा तीन किलोमिटर टाढा रहेको नेपाल बैंक लिमिटेडको शाखामा जानुपर्छ। बुहारी मञ्जुदेवी भन्छिन्, “ससुरालाई बोकेर बैंकसम्म लग्नु, घण्टौँ लाइनमा बस्नु, अनि बैंकका कर्मचारीबाट झर्को सहनु । यो त अपमान जस्तै हो ।”
त्यस्तै ईशनाथ नगरपालिका–९ का जोबैर मियाँ पनि अशक्त छन्। बैंक जानका लागि दुई जनाको सवारी खर्च मात्र झन्डै पाँच सय रुपैयाँ पर्न आउँछ। गिरी टोलमा रहेको बैंक भवन दोस्रो तलामा रहेको हुँदा उनीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि भत्ता लिन जानु झनै चुनौतीपूर्ण हुन्छ ।
राजपुर नगरपालिका–१ का ८५ वर्षीय सेख लेयाकत पनि पक्षाघातबाट पीडित छन्। भत्ता बुझ्न उनी बिहानैदेखि घरबाट निस्कनुपर्छ। “कहिलेकाहीँ त गाडीभाडा नहुने भएकाले पैसा सापटी लिनुपर्छ। घण्टौँ कुर्नुपर्छ, अनि कर्मचारीको व्यवहार पनि सहानुभूतिपूर्ण हुँदैन,” उनले दुःखेसो पोखे ।
अपाङ्गता–मैत्री सेवा आवश्यक
रौतहटकै एक विकसित सहर चन्द्रनिगाहपुरमा रहेका अधिकांश वाणिज्य तथा विकास बैंकहरू अपाङ्गमैत्री छैनन् । नेपाल बैंक र कृषि विकास बैंकबाहेक अधिकांश बैंक दोस्रो वा तेस्रो तलामा सञ्चालनमा छन्। चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटा भन्छन्, “बैंकहरू भाडाको घरमा सुरक्षा कारण देखाउँदै माथिल्लो तलामा सरेका छन्, तर यसले अशक्त र वृद्ध लाभग्राहीलाई समस्यामा पारेको छ ।”
उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरूले विशेष काउन्टर स्थापना गर्नु, प्राथमिकता सेवा दिनु र आवश्यक परेमा घरमै पुगेर सेवा दिन सक्ने व्यवस्था गर्नु आवश्यक रहेको बताए । “स्थानीय सरकार र बैंकबीच सहकार्य भएमा भत्ता वितरण अझ प्रभावकारी, सहज र सम्मानजनक बन्न सक्छ,” उनले थपे ।















