Logo

२१ साउन,विराटनगर । झापाको झापा गाउँपालिका–१ मा मदिरा सेवनपछि होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६५ वर्षीय जतन सोरेन रहेका छन्। उनी अत्यधिक मात्रामा मदिरा सेवन गरेर गाउँमा हल्ला गर्दै हिँडेपछि छिमेकीहरूले नियन्त्रण गर्न भन्दै प्लास्टिकको डोरीले बाँधेर लसुनामा रहेको आँपको रुखमा छाडेका थिए।

प्रहरीका अनुसार घटना बुधबार राति करिब १२ बजेतिर भएको हो भने बिहान करिब ४ बजे मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मृतक जतन सोरेनले मदिरा सेवनपछि महादेव टुडुको घरछेउमा गएर होहल्ला गरेपछि स्थानीयहरूले रुखमा बाँधेर छाडेका थिए। “सुरक्षाका नाममा गरिएको यो अमानवीय व्यवहारले ज्यान गएको देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ,“ डिएसपी खड्काले बताए।

मृतकको शव पोष्टमार्टमका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ। प्रहरीले घटनालाई गम्भीर रुपमा लिँदै कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै