Logo

२१ साउन,काठमाडौं । जन्मदिनको अवसरमा मध्यरातसम्म हुल्लड गर्दा पक्राउ परेका कुख्यात गुण्डा नाइके चक्रे मिलनविरुद्ध कुटपिटसम्बन्धी मुद्दा चलाउने तयारी भक्तपुरस्थित जिल्ला प्रहरी परिसरले थालेको छ।

भदौ ४, २०८१ मा भक्तपुरमा भएको एक कुटपिट घटनामा चक्रे मिलनको संलग्नता पुष्टि भएपछि मुद्दा अघि बढाउने तयारी भइरहेको प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। हाल उनी अभद्र व्यवहारसम्बन्धी मुद्दामा काठमाडौंको भद्रकालीस्थित प्रहरी हिरासतमा छन्।

भक्तपुर प्रहरीका अनुसार हिरासतमा रहेकै अवस्थामा चक्रे मिलनको बयान लिने काम अघि बढाइएको छ। उक्त मुद्दा प्रहरी वृत्त थिमीले अनुसन्धान गर्नेछ।

थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार, पीडित मनिष रायमाझीले सामाजिक सञ्जालमा ‘डुँडे’ भनेर चक्रेलाई होच्याएपछि चक्रेले फोनमार्फत धम्की दिएका थिए। त्यसपछि चक्रेका सहयोगी अजित खवाससहितको समूहले रायमाझीमाथि सांघातिक हमला गरेको आरोप छ।

सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते मुद्दा दर्ता गरिएको थियो। तर, चक्रेको वतन खुलेको नदेखिएकोले त्यसबेला प्रतिवादीका रूपमा खवासमात्रै नाम जोडिएको थियो। अहिले भने चक्रे मिलन पक्राउमा परेपछि मुद्दा पुनः सक्रिय बनाइएको हो।

प्रहरीका अनुसार, अब चक्रे मिलनमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ अनुसार अभियोगपत्र दायर गर्ने तयारी भइरहेको छ।

थिमी प्रहरीका डीएसपी ढुंगानाले भने, “घटनामा संलग्न अन्य व्यक्तिको पहिचान प्रक्रिया पनि अगाडि बढाइएको छ। अहिले भद्रकालीको हिरासतमा रहेका अन्य १९ प्रतिवादीभित्रै ती संलग्न व्यक्तिहरू हुन सक्ने आशंका गरिएको छ।”

भक्तपुर प्रहरी प्रवक्ता न्यौपानेले भने, “काठमाडौंमा हाल भइरहेको मुद्दा टुंगिएलगत्तै हामी उनलाई ल्याएर अनुसन्धान थाल्छौं।”

यसरी लामो समयदेखि फरार रहेका चक्रे मिलनविरुद्ध पुरानो कुटपिट मुद्दा पुनः सक्रिय पारिनु कानुनी रूपमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


सम्बन्धित समाचार