२१ साउन,वीरगञ्ज । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका उच्च जोखिमयुक्त क्षेत्रहरूमा १२ वटा अस्थायी बेश स्थापना गरेको छ।
वर्षाका कारण बाढी, डुबान, भूक्षय र अन्य विपद्बाट प्रभावित हुन सक्ने स्थानहरू पहिचान गरी स्थानीय नागरिकको तत्काल उद्धार र राहत कार्य सहज बनाउन यस्तो पूर्वतयारी गरिएको हो।
मधेश प्रदेशका १२ स्थानमा बेशहरू
सशस्त्र प्रहरीले स्थापना गरेका अस्थायी मनसुन बेशहरू यसप्रकार छन्:
- सप्तरी: भारदह, बर्साईन
- सिरहा: मिल
- धनुषा: दुवरकोट
- महोत्तरी: रघुनाथपुर, बनौटा
- सर्लाही: धरहरा
- रौतहट: फतुवा
- बारा: तेलकुवा, कलैया
- पर्सा: पोखरीया
यी सबै बेशहरूमा विपद् उद्धार सामग्रीसहितको सुरक्षा टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले जनाएको छ।
समुदाय स्तरमै विपद् स्वयंसेवक तालिम
स्थानीय समुदायलाई समेत विपद् व्यवस्थापनमा संलग्न गराउने उद्देश्यले २२७ जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ। तालिमले उद्धार, समन्वय र संचार प्रणालीबारे जानकारी दिइएको छ।
राष्ट्रव्यापी पूर्वतयारी
मात्र मधेशमा होइन, सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेशहरू स्थापना गरिसकेको छ। साथै, ९९० जनालाई विपद् स्वयंसेवक तालिम, र १ लाख ६८ हजार ९५६ जनालाई विपद् सूचकका रूपमा परिचालनमा राखिएको छ।
आपतकालीन सम्पर्क
सशस्त्र प्रहरी बलले विपद्मा परेका नागरिकहरूलाई तत्काल सहयोगका लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
सुरक्षाकर्मी र स्वयंसेवकबीचको समन्वय, शीघ्र उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले मनसुन प्रतिकार्य तयारीलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।















