Logo

२२ साउन, काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स प्राइभेट लिमिटेड अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीले आफ्नो पुँजी बढाएर १ अर्ब रुपैयाँको अधिकृत पुँजी र ५० करोड रुपैयाँको जारी पुँजी पुर्याएको छ ।

२०८२ बैशाख २२ गते सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि गरी पब्लिक लिमिटेडमा जाने निर्णय गरेको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयले २०८२ असार २७ गते यो निर्णयलाई अनुमोदन गर्दै कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता गरेको हो ।

पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित यस कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा बीमा प्रमुख रमेशकुमार भट्टराईले सम्हालेका छन् ।

निष्क्रिय कर्जा व्यवस्थापनमा ध्यान

नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैर(बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने उद्देश्यले स्थापित कम्पनी हो । सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुन नआउन्जेल यसले निष्क्रिय कर्जाको समस्यामा परेका ऋणी तथा आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यवसायीहरूलाई कर्पोरेट एडभाइजरी सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पछिल्लो तीन वर्षदेखि लगातार नाफा आर्जन गरिरहेको जनाएको छ ।

नेपालमा अहिले बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा चुनौतीको रूपमा देखिएको छ । यसको समाधानका लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउने प्रयासमा छन् ।

छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यासअनुसार, खर्बौंको निष्क्रिय कर्जा व्यवस्थापन गर्नका लागि विभिन्न आकारका कम्पनीहरू आवश्यक पर्ने भएकाले नेपालको वित्तीय संरचनाअनुसार साना, मध्यम र ठूला पुँजी भएका सबै प्रकारका सम्पत्ति व्यवस्थापन कम्पनीहरू आवश्यक पर्ने नेक्सजेनको बुझाइ छ ।

भविष्यको योजना

यसै आवश्यकतालाई महसुस गर्दै नेक्सजेन म्यानेजमेन्टले भविष्यमा १ अर्ब रुपैयाँसम्मको पुँजी वृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीले सर्वसाधारणलाई पनि समावेश गर्नका लागि भविष्यमा कुल सेयरको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गरी सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार