२२ साउन, काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले भारतीय उद्योगपति अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ।
३० अर्ब भारतीय रुपैयाँको मुद्रा निर्मलीकरण (मनी लन्डरिङ) सम्बन्धी मुद्दामा मंगलबार १० घण्टासम्म बयान लिएपछि यो कदम चालिएको हो । ईडीले अम्बानीको बयानबाट सन्तुष्ट नभएको र उनी पक्राउको डरले विदेश भाग्न सक्ने आशंकामा यो नोटिस जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘लुक आउट नोटिस’ जारी भएपछि भारतभरका सबै अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी कार्यालय र सीमा नाकाहरूमा अम्बानीमाथि निगरानी बढाइएको छ । रिलायन्स ग्रुपका अध्यक्ष अम्बानीमाथि ३० अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा ईडीले छानबिन गरिरहेको छ। यसअघि पनि उनको कम्पनीहरूमा छापा मारिएको थियो। अम्बानीको बयान बिहान ११ बजेदेखि सुरु भई राति ९ बजेसम्म चलेको थियो।

















