२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयकमा चलखेल भएको दाबी गरेका छन्।
अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले चलखेल भएको थाहा पाएपछि विधेयकलाई फिर्ता लिएर पुनः दर्ता गरेको बताए। प्रचण्डले निजी शिक्षालाई क्रमशः नियन्त्रण गर्दै राज्यले सबै नागरिकलाई समान शिक्षाको अवसर दिनुपर्नेमा जोड दिए। उनले संविधानले नै समाजवाद उन्मुख शिक्षाको परिकल्पना गरेको भए पनि अहिलेसम्म त्यसअनुसारको नीति कार्यान्वयन हुन नसकेको बताए।
उनले उच्च शिक्षा आयोगको प्रतिवेदन गायब पारिएको र शिक्षा विधेयक संसदमा पुग्नमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे। प्रचण्डले एमाले र कांग्रेसका कारण विधेयकमा ढिलाइ भएको आरोप पनि लगाए।

















