२२ साउन, काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले शिक्षक बढुवाका लागि तीन फरक–फरक विधिहरूको प्रस्ताव गरेको छ।
मन्त्रालयका सचिव चुडामणि पौडेलले शिक्षा समिति बैठकमा यो प्रस्ताव राखेका हुन्। यसअनुसार, शिक्षकहरूलाई आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा गरिनेछ।
प्रस्तावित विधिअनुसार, तृतीय श्रेणीका शिक्षकहरूको बढुवा शतप्रतिशत खुला प्रतियोगिताबाट गरिनेछ। माध्यमिक तहको तृतीय श्रेणीमा भने ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताबाट बढुवा हुने प्रस्ताव गरिएको छ। द्वितीय र प्रथम श्रेणीका शिक्षकहरूको बढुवाका लागि पनि फरक–फरक मापदण्ड तय गरिएको छ ।
द्वितीय श्रेणी श्रेणीमा २० प्रतिशत शिक्षक आन्तरिक प्रतियोगिताबाट, ४० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट, र बाँकी ४० प्रतिशत कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा हुनेछन् । प्रथम श्रेणी श्रेणीमा भने १० प्रतिशत आन्तरिक प्रतियोगिता, ४५ प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन, र ४५ प्रतिशत कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा गरिने प्रस्ताव गरिएको छ।

















