प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाइल तस्वीर

२२ साउन,वीरगञ्ज । नेपाल–भारत सीमाक्षेत्रमा पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र तस्करबीचको तनाव गम्भीर बन्दै गएको छ। बुधबार मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा भएका घटनाहरूले सीमावर्ती क्षेत्रमा शान्ति र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

सप्तरीमा प्रहरीको गोली लागेर एकको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। यादवको मृत्युपछि आक्रोशित स्थानीयवासीले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार, भारतबाट ठूलो परिमाणमा भित्रिएको अवैध मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा भएपछि आत्मरक्षार्थ सात राउन्ड गोली चलाइएको थियो। यादवको मृत्यु उपचारका क्रममा बाटोमै भएको जनाइएको छ। प्रहरीले घटनास्थलबाट ८० कार्टुन अवैध मदिरा बरामद गरेको जनाएको छ।

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप

धनुषाको विदेह नगरपालिका क्षेत्रमा बुधबार साँझ तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरी र तस्करबीच झडप भएको हो। तस्कर समूहले ढुङ्गामुढा गरेपछि सशस्त्र प्रहरीले चार राउन्ड हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका मधेस प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए। घटनामा मानवीय क्षति नभएको र अवस्था अहिले सामान्य रहेको बताइएको छ।

सर्लाहीमा प्रहरी टोलीमाथि आक्रमण

सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा प्रहरी निरीक्षक (सई) गौरीशंकर साहसहितको टोलीमाथि स्थानीय समूहले आक्रमण गरेको छ। रामनगर गाउँपालिका–१ खैर्वाका रोहित कुमार सहनीमाथि भएको लुटपाटको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि बाटोमै आक्रमण भएको हो। सई साहको हातमा गम्भीर चोट लागेको छ भने अन्य दुई जना पनि घाइते भएका छन्। घटनापछि आक्रमणकारीहरू फरार भएका छन् भने सशस्त्र प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा ल्याइएको छ।

पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर थापाका अनुसार, सीमा क्षेत्रमा अपराधीहरू केही शक्तिशाली समूहको संरक्षणमा हुने भएकाले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न पछि पर्दैनन्। साथै, सुरक्षाकर्मीहरूको व्यवहारमा असंगति देखिएपछि समेत स्थानीयसँगको सम्बन्ध बिग्रिने गरेको छ। खुला सीमाका कारण लागूऔषध ओसारपसार गर्ने समूहहरूको गतिविधि बढेको र तिनकै कारणले पनि सुरक्षाकर्मीमाथि आक्रमण हुने गरेको थापाले बताए।

भारतीय बजारबाट सस्तो सामान किनेर ल्याउने सर्वसाधारणलाई समेत कहिलेकाहीं तस्कर सरह व्यवहार गर्दा जनआक्रोश बढ्ने गरेको छ। यद्यपि सुरक्षाकर्मीमाथि आक्रमण गर्ने धेरैजसो घटना तस्करीमा संलग्न समूहले सर्वसाधारणको आवरणमा गर्ने गरेको पाइएको छ।

सीमाक्षेत्रको अवस्था दिनदिनै जटिल बन्दै जाँदा स्थायित्व र शान्तिको लागि राज्य संयन्त्र, सुरक्षाकर्मी र स्थानीय समुदायबीचको विश्वास र सहकार्य अत्यावश्यक देखिन्छ। तस्करी नियन्त्रणसँगै मानव अधिकार र जनसाधारणको स्वतन्त्रताबीचको सन्तुलन कायम गर्नु चुनौतीपूर्ण विषय बन्ने देखिन्छ।


सम्बन्धित समाचार