२४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को संयुक्त राष्ट्रसङ्घीय तेस्रो सम्मेलनमा सहभागी भई शुव्रmबार राति स्वदेश फर्किएका छन् ।
ओलीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका उप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। सो अवसरमा उच्चपदस्थ सरकारी अधिकारीको पनि उपस्थिति रहेको थियो ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण अत्यन्तै सफल र फलदायी रहेको जानकारी दिए। सचिव राईका अनुसार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकले भोग्नु परेका समस्या र उनीहरूका अधिकारबारे ध्यानाकर्षण गराएका थिए ।
सम्बोधनका व्रmममा उनले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका पूर्वाधार अभाव, बजार सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असरलगायत समस्या तथा चुनौतीहरूको चर्चा गरेका थिए। साथै यस्ता समस्याहरूको समाधानका लागि भूपरिवेष्टित विकासोन्मुख मुलुकबिच आपसी सहयोग र साझेदारी विस्तार गर्नुका साथै विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।
प्रधानमन्त्री ओलीले भूपरिवेष्टित मुलुकहरूको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भू–जडित, पारवहन–निर्भरबाट व्यापार–प्रतिस्पर्धी र जलवायु– सङ्कटापन्नबाट जलवायु–प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका थिए ।
स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए। उनले नेपालको विकास यात्रामा थप सहयोगगर्न छिमेकी मुलुकहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गरे ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय आबद्धताको परिवर्तनकारी सम्भावनाको सदुपयोग नामक उच्चस्तरीय विषयगत गोलमेचको सहअध्यक्षता गरेका थिए । सो अवसरमा उनँले समुद्रसम्म प्रत्यक्ष पहुँच नभएका कारण भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले उच्च पारवहन लागतलगायत समस्या भोग्नु परेको बताएका थिए ।
ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकका समृद्धिका संवाहकका रूपमा संरचनागत परिवर्तन, विविधीकरण र विज्ञान, प्रविधि तथा नवप्रवर्तन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई सम्बोधन गरेका थिए सम्बोधनमा उनले भूपरिवेष्टित विकासोन्मुख मुलुकको अर्थतन्त्रको संरचनात्मक रूपान्तरणका लागि उत्पादकत्व बढाउन स्रोतसाधनको परिचालन गर्न, रोजगारीका अवसर सुनिश्चित गर्न र विश्वव्यापी मूल्य शृङ्खलामा आबद्धता बढाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोगमा जोड दिए।
यसै गरी प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकको अनुकूलन क्षमता अभिवृद्धि, सहनशीलता सबलीकरण र वातावरण परिवर्तन तथा प्रकोपको सम्बोधन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई पनि सम्बोधन गरेका थिए। सो अवसरमा उनले जलवायु वित्तमा भूपरिवेष्टित विकासोन्मुख मुलुकको पहुँच बढाउन, प्रभावकारी अनुकूलनका उपाय विकास गर्न, नोक्सान र क्षति कोषबाट लाभ उठाउन क्षमता विकास र प्रविधि हस्तान्तरणको आवश्यकता रहेको बताएका थिए। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासोन्मुख मुलुकका लागि दिगो संरचना निर्माण, सम्पर्क सबलीकरण र सहज परिवहन प्रणाली प्रवर्धन नामक उच्चस्तरीय विषयगत गोलमेचलाई पनि सम्बोधन गरे।
साथै सुदृढ व्यापार तथा यातायात सम्पर्कमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्धन नामक कार्यव्रmमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरे। सम्बोधनका व्रmममा उनले दिगो सहकार्य, समावेशी समृद्धि र बलियो क्षेत्रीय एकीकरणका लागि व्यापार र यातायात सम्पर्क सहयोगी रहेको बताए।
यसै गरी प्रधानमन्त्री ओलीले ‘पग्लँदो हिमताल र त्यसभन्दा पनि बढी भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूलाई असर गर्ने जलवायु चुनौतीहरूको समाधान’ विषयक कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। सम्बोधनका व्रmममा उनले हिमाल बचाउन र जलवायु सङ्कटको सामूहिक रूपमा सामना गर्न एकताबद्ध प्रयासका लागि नेपालले सव्रिmय र नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उनले विकासोन्मुख मुलुकबिच आपसमा सहयोग तथा साझेदारी वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका थिए।
सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेर्दमुखमेडोभसँग भेटवार्ता गरे। सो अवसरमा नेपाल र तुर्कमेनिस्तानबिचका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा तथा नेपालकोतर्फबाट सम्मेलनलाई सम्बोधन गरेका थिए।















