२३ साउन, काठमाडौं । प्रहरीले कुख्यात ‘गुन्डा’ चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।
साउन १५ गते ठमेलस्थित साम्बाला होटेलबाट पक्राउ परेका ४७ जनामध्ये यी १९ जनालाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको हो । प्रहरीले अनुसन्धानका क्रममा चक्रे मिलन समूहका ९ जनालाई एकै प्रकारको कसुरमा पटक(पटक संलग्न भएको भन्दै पटके कसुरदार कायम गर्ने तयारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, यी ९ जनालाई अदालतमा मुद्दा चलाइनेछ।
पटके कसुरदारको रूपमा मुद्दा दायर गर्दा कानुनअनुसार थप सजायको मागदाबी लिन सकिने व्यवस्था छ। अहिले हिरासतमा रहेका १९ जनामाथि प्रहरीले बयान लिइसकेको छ र अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
हिरासतमा रहेका प्रमुख व्यक्तिहरू
हाल प्रहरी हिरासतमा रहेका प्रमुख व्यक्तिहरूमा चक्रे मिलन, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन् । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध अभियोगपत्र दायर गर्नेछ।















