Logo

२६ साउन, काठमाडौँ ।  सुडानको डारफुर क्षेत्रअन्तर्गत घेराबन्दीमा परेको एल–फाशेर सहरमा कुपोषणका कारण गत साताभित्र कम्तीमा ६३ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

अधिकारीका अनुसार यो संख्या केवल अस्पतालसम्म पुग्न सफल भएका बिरामीहरूमात्र हो। कमजोर सुरक्षा स्थिति र यातायात अभावका कारण थुप्रै परिवारले उपचार नपाइ मृत आफन्तलाई सिधै गाड्नु परेको छ ।

एल–फाशेर गत वर्षको जेठदेखि अर्धसैनिक समूह ‘द्रुत सहायता बल’ (RSF) को घेराबन्दीमा छ । RSF र सुडानी नियमित सेना बीच विसं २०८० वैशाखदेखि युद्ध जारी छ। डारफुर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एल–फाशेर एक हो, जहाँ हालै RSF ले आक्रमण तीव्र पारेको छ ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको भीषण आक्रमणपछि दसौं हजार मानिस पुनः विस्थापित भई एल–फाशेरमा शरण लिन बाध्य भएका छन् । खाद्यान्न अभावका कारण जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू बन्द भएका छन्। केही परिवार पशुचौपायाको घाँस वा फालिएको खानेकुरा खाएर गुजारा गर्न बाध्य भएको रिपोर्टहरू आएका छन् ।

संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार, एल–फाशेरमा पाँच वर्षमुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट पीडित छन्, जसमा ११ प्रतिशत गम्भीर अवस्थामा छन् ।

तीन वर्षदेखि जारी सुडानी युद्धले दसौं हजारको मृत्यु, लाखौँको विस्थापन गराइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो संकट अहिले विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरीको मानवीय संकटमा परिणत भएको छ ।


सम्बन्धित समाचार