२७ साउन, काठमाडौं । सुनसरीको भोक्राहामा बस र विङ्गर ठोक्किँदा दुःखद दुर्घटना भएको छ। यो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान भोक्राहा नरसिंह गाउँपालिका–३ मा ठोक्किएका हुन् ।
दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक झापाका गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।















