२७ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशभरका ३४ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार, कोसी नदीको सहायक नदीहरूको जलस्तर अहिले पनि सतर्कता तहको आसपास छ। यसैगरी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलस्तर अहिले सामान्य भए पनि बढ्ने सम्भावना रहेको छ।
बाढीको उच्च जोखिम भएका जिल्लाहरू
आज दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा रहेका साना नदी तथा खोलाहरूमा बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
मध्यम जोखिम भएका जिल्लाहरू
यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुरसहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी र आसपासका जिल्लाहरूका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम सम्भावना रहेको छ।
बाढी महाशाखाले यी सबै ३४ जिल्लाका जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन सुझाव दिएको छ।















