Logo

२३ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पूर्व गृहमन्त्री रवि लामिछाने थुनामा रहेको भैरहवा कारागारको अनुगमन गरेको छ ।

आयोगका प्रवक्ता लिली थापा र इन्सेकका प्रतिनिधिसहितको टोलीले आज कारागारको अनुगमन गरेको हो । टोलीले कारागारभित्रको अवस्था, कैदीबन्दीहरूको मानव अधिकार र लामिछानेको सुरक्षा अवस्थाबारे जानकारी लिएको बुझिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै आएका छन् । यसै सन्दर्भमा मानव अधिकारको अवस्था बुझ्न आयोगको टोली कारागार पुगेको हो । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उनले उल्लेख गरेकी छन् । रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनको भनाइ छ ।

थापाले उनको बस्ने कोठामा पंखा भएपनि झ्यालहरू टालिएको पाइएको बताएकी छन् । उनले कोठाभित्र एसी नदेखेको बताइन् । थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख समेत उल्लेख गरेकी छन् ।


सम्बन्धित समाचार