२६ साउन, काठमाडौं। गृहमन्त्री रमेश लेखकले अब नेपालमा आमाको नामबाट नागरिकता पाउन सहज हुने बताएका छन् । उनले नेपाल नागरिकता ऐन संशोधन गर्न लागिएको र यसले आमाको अधिकार सुनिश्चित गर्ने दाबी गरे।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले बुबाको मृत्यु भएमा, जीवित भए पनि सहयोग नगरेमा वा सम्बन्धविच्छेद भएर अर्को विवाह गरेमा आमाकै नामबाट सन्तानलाई नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको जानकारी दिए ।
विशेष गरी विदेशमा जन्मिएका सन्तानको हकमा पनि नयाँ व्यवस्था गरिएको छ। यदि कुनै महिला विदेशमा रहँदा बच्चा जन्मेको वा गर्भवती भएर स्वदेश फर्किएको र बुबाको पहिचान हुन नसकेको अवस्थामा आमाको स्वघोषणाको आधारमा सन्तानलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको छ। यो व्यवस्थाले आमा र सन्तान दुवैको अधिकार सुरक्षित हुने गृहमन्त्री लेखकको भनाइ छ।
उनले सर्वोच्च अदालतबाट समेत सरकारलाई आएको निर्देशनात्मक आदेशको आधारमा यो विधेयक अगाडि बढाइएको बताए। यो संशोधनको मुख्य उद्देश्य महिलाको हकलाई संविधानको भावनाअनुसार स्थापित गर्नु रहेको उनले स्पष्ट पारे।















