काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित डालास सहरमा एक दुःखद घटना भएको छ।
गोलीकाण्डमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। प्रहरीका अनुसार, एक व्यक्तिले आफ्नी पत्नी र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । टेक्सस प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार, शनिबार बिहान २ बजेर १० मिनेटमा डडली स्ट्रिटको १९०० ब्लकमा यो घटना भएको थियो। प्रहरी अनुसन्धानबाट ५३ वर्षीय ललित प्रधानले आफ्नी पत्नी रञ्जना श्रेष्ठ ९३७० र तीन वर्षीय छोरा प्रनिश प्रधानको गोली हानी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको खुलेको छ। प्रहरीका अनुसार, ललित प्रधान लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए।
उनले घटनाको एक दिनअघि मात्रै आफ्नो फेसबुकमा आफू तनावमा रहेको र सरकारी सेवाहरूबाट वञ्चित भएको गुनासो पोष्ट गरेका थिए। उनको पोष्टमा ‘मैले र मेरो परिवारले सरकारी सेवाहरु प्राप्त गर्न सकेका छैनन्, जसका कारण मैले र मेरो परिवारले कडा परिश्रम गर्न बाध्य भएका छौं’ भनी लेखिएको थियो।
नेपाली समाजको पहल
नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले घटनाबारे प्रहरीसँग समन्वय गरिरहेको बताए । उनले ललित भुटानी शरणार्थी र रञ्जना नेपाली भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाए । भुसालले शवलाई नेपाल पठाउनेबारे पनि पहल भइरहेको जानकारी दिए ।
यसअघि पनि दुई महिनाअघि भर्जिनियामा यस्तै गरी एकै परिवारका चार जना नेपालीको मृत्यु भएको थियो, जसलाई प्रहरीले हत्यापछि आत्महत्याको घटना मानेको थियो।















