काठमाडौं । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको एकता प्रक्रिया अहिले वैचारिक र सैद्धान्तिक छलफलमा मात्र सीमित रहेको दुवै पक्षका नेताहरूले बताएका छन् ।
साउन १९ गते माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरे पनि यो प्रक्रियाले ठोस रूप लिएको छैन ।
श्रेष्ठको सक्रियता
माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको निर्णयपछि विप्लव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायतका नेताहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र पार्टी एकताका वैचारिक आधारबारे छलफल गरेको बताए। यद्यपि, यी छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएको उनको भनाइ छ।
श्रेष्ठले भने, ‘अहिलेको छलफल एकताको मोडालिटीमा प्रवेश गरेको छैन । हामीले पहिला वैचारिक र सैद्धान्तिक मतभेदहरूलाई समाधान गरेपछि मात्र एकताको आधार तय गर्नेछौँ ।’ उनले विप्लवको पार्टीसँग मात्र एकता गर्ने वा समाजवादी मोर्चाका सबै दलसँग एकता गर्ने भन्ने विषयमा पनि कुनै निर्णय नभएको स्पष्ट पारे ।
पोखरेलको भनाइ
माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले विगतमा दुई शीर्ष नेताबीच मात्र एकता हुँदा नेकपा दुर्घटनामा परेको भन्दै अब त्यो गल्ती नदोहोर्याउने बताए। उनले अहिले तल्लो तहदेखि नै एकता प्रक्रिया अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिए ।
नेकपाको अडान
यता नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि विचार, सिद्धान्त, कार्यदिशा र कार्यक्रममा सहमति नभएसम्म पार्टी एकता हुन नसक्ने बताए। उनले माओवादीको एकता प्रस्ताव सकारात्मक भए पनि त्यसको स्पष्ट आधार नआइसकेकाले पार्टीको केन्द्रीय समिति बैठकले मात्र निर्णय लिने बताए ।
विप्लव भदौ पहिलो साता काठमाडौं फर्किएपछि माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग थप छलफल गर्ने तयारीमा छन् ।















