Logo

२६ साउन,वीरगञ्ज । सानो पाइला संस्था र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा तथा नवदीप एकेडेमीको सहयोगमा “सुरक्षित स्पर्श” र “असुरक्षित स्पर्श” विषयक एकदिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वीरगञ्ज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका अध्यक्ष एवं विद्यालयकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रम कक्षा ३, ४ र ५ मा अध्ययनरत १२७ जना विद्यार्थीको सहभागितामा सम्पन्न भएको थियो।

प्रशिक्षणमा बालबालिकालाई सुरक्षित (न्ययम) र असुरक्षित (द्यबम) स्पर्शबीचको भिन्नता, आत्म–सुरक्षाका उपाय, अपरीचित व्यक्तिबाट हुने सम्भावित जोखिम र त्यसविरुद्ध प्रतिकार गर्ने तरिकाबारे जानकारी दिइएको थियो।

सानो पाइला संस्थाबाट सुस्मिता चालिसे र काजल झा प्रमुख प्रशिक्षकको रूपमा सहभागी थिए। उनीहरूले सरल भाषा र व्यावहारिक उदाहरणहरू मार्फत बालबालिकालाई ‘ना’ भन्न सक्ने आत्मविश्वास, असुरक्षित अवस्था पहिचान गर्ने क्षमता र विश्वासिला व्यक्तिसँग तुरुन्त जानकारी दिने बानीको महत्वबारे प्रशिक्षण दिए।

कार्यक्रममा प्रमुख अतिथि लायन्सका आजीवन सदस्य लायन राधेश्याम खेतानले बालबालिकालाई यस्ता संवेदनशील विषयमा प्रारम्भिक उमेरमै सचेत गराउनु आवश्यक रहेको धारणा राखे। उनले विद्यालय तहमै निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्न जोड दिए।

कार्यक्रममा नवदीप एकेडेमीका शिक्षक–शिक्षिका नेहा अग्रवाल, आनन्द तिवारी, उत्तम कुश्वाहा, सरिता सिंह, देवन्ती साह, कमला भण्डारी लगायतको उपस्थिति रहेको थियो।

सचेतनामूलक प्रशिक्षणपछि सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्ता तालिमलाई विद्यालय तहमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको सफल सञ्चालनमा सानो पाइला संस्था कार्यक्रम संयोजक राजकुमार तामाङ, रेखा कुर्मी लगायतको सक्रिय भूमिका रहेको थियो।


सम्बन्धित समाचार