काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको मागसहितको निवेदनमाथि आज जिल्ला अदालत रुपन्देहीमा भएको बहस सकिएको छ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार, न्यायाधीश नारायण सापकोटाको इजलासमा भएको बहसपछि अदालतले आजै आदेश सुनाउने सम्भावना छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि चैत २५ गतेदेखि उनी कारागारमा छन्। यसअघि उनी जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।
उनले आफ्नो भागमा परेको बिगो बराबरको जमानत बुझाएर रिहा हुन पाउनुपर्ने मागसहित साउन १९ गते जिल्ला अदालतमा पुनः निवेदन दिएका थिए। आजको अदालतको निर्णयले उनको कारागार बसाइको भविष्यबारे स्पष्ट पार्नेछ।















