प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच लामो समयदेखि चुलिएको आन्तरिक विवादले नयाँ मोड लिएको छ।

पार्टीभित्रैबाट चर्को दबाब आएपछि दुवै शीर्ष नेताले अब सार्वजनिक रूपमा एकअर्काविरुद्ध आरोप–प्रत्यारोप नगर्ने ‘भद्र सहमति’ गरेका छन् । पछिल्लो समय सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामार्फत नेपाल र खनालबीचको दूरी झन् बढेको थियो । खनालले पार्टी विभाजनको औचित्यमाथि प्रश्न उठाउँदै नेपाललाई पतञ्जली जग्गा प्रकरणमा जोडेर अध्यक्ष पद छाड्न समेत सुझाएका थिए । यसको जवाफमा नेपालले पनि खनाललाई एमालेको सेवा गर्न सुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

यसरी आपसी तिक्तता बढ्दै गएपछि पार्टीका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे र घनश्याम भुसालले दुई नेतालाई वार्तामा बसालेका थिए। आलोकनगरस्थित पार्टी कार्यालयमा भएको करिब अढाई घण्टा लामो छलफलपछि यो सहमति जुटेको हो।

सहमतिअनुसार, अबदेखि आफ्ना असहमति वा प्रस्तावहरू दुवै नेताले पार्टीको आधिकारिक बैठकमा मात्रै राख्नेछन्। यसै सिलसिलामा, विवादित विषयमा थप छलफल गर्न साउन ३० गते पार्टीको सचिवालय बैठक बोलाइएको छ। यो सहमतिले पार्टीभित्र देखिएको विभाजनको खतरालाई तत्कालका लागि टारेको र पार्टी अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यद्यपि, छलफलका क्रममा पुराना विषयमा कुरा बढी भएको र अझै पनि ठोस सहमति हुन बाँकी रहेको नेताहरूले बताएका छन्। यसबाट यो सहमतिले मात्रै विवादको पूर्ण समाधान नगरेको संकेत मिल्छ, र आगामी बैठकहरू थप महत्त्वपूर्ण हुने देखिन्छ।


सम्बन्धित समाचार