२७ साउन, काठमाडौं । करिब दुई वर्षदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले आँसु बगाउँदै अन्तर्राष्ट्रिय समुदाय र हमाससँग अपिल गरेका छन्।
‘कृपया, मेरो छोरालाई बचाउनुहोस्। हमास, उसलाई तुरुन्त घर पठाइदिनुहोस्’ पद्माले इजरायलको बेन गुरियन विमानस्थलमा मिडियासँग रुँदै भनिन्। उनको यो हृदयविदारक अनुरोधले एउटी आमाको पीडा र छटपटी स्पष्ट देखिन्छ।
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सन् २०२३ मा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी हुन इजरायल गएका थिए। तर, अक्टोबर ७ को हमासको आक्रमणमा उनी बन्धक बने। विपिन जीवित छन् कि छैनन्, भन्ने कुरा पुष्टि नहुँदा परिवारको चिन्ता झन् बढेको छ। विपिनकी बहिनी पुष्पाले पनि आफ्नो दाइको यो युद्धसँग कुनै सरोकार नभएको बताउँदै उनको सकुशल रिहाइको माग गरिन् ।
‘द अस्ट्रेलियन’ पत्रिकाले हालै जीवित रहेका बन्धकहरूको सूची प्रकाशन गरे पनि त्यसमा विपिनको नाम छैन, जसले परिवारको आशा र पीडालाई थप गहिरो बनाएको छ।















