२७ साउन, काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई निर्दोष बालबालिकाको मृत्युपछि उत्पन्न रहस्यले सबैलाई स्तब्ध बनाएको छ ।
गाउँलेहरूले खाडलमा गाडेका ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेगराज बस्नेतको शवलाई प्रहरीले खाडलबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल लगेको छ । गत साउन २२ गते राति स्थानीय जङ्गलमा मेनिषा र मेगराज मृत भेटिएका थिए । उनीहरूको परिवारले प्रहरीलाई कुनै जानकारी नदिई साउन २३ गते हतार–हतार शव गाडेका थिए ।
प्रहरी निरीक्षक सुशन मिश्रका अनुसार, उनीहरूको भिरबाट लडेर मृत्यु भएको भनिएको छ, तर कुनै कानुनी प्रक्रिया पूरा नगरी हतारमा शव गाडिएकोले हामीले अनुसन्धान सुरु गरेका छौँ’ । साउन २५ गते साँझ प्रहरीले गाडिएको खाडलबाट शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।
हराएका बालबालिकाको खोजी
साउन २१ गते हराएका ६ बालबालिकामध्ये मेनिषा र मेगराज मृत भेटिएका थिए । अन्य चार बालबालिका भने सकुशल घर फर्किएका छन् । हराएका बालबालिकाहरू स्कुल नगई घुम्न निस्केका थिए । उनीहरू घर फर्किने क्रममा बाटो बिराएर भिरबाट खसेको अनुमान गरिएको छ ।
कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गर्दै किन शव गाडियो, यसमा केही लुकाउन खोजिएको त छैन भन्ने प्रश्नले गाउँले र प्रहरीलाई गम्भीर बनाएको छ । यो घटनाले बालबालिकाको सुरक्षा र उनीहरूको मृत्युपछिको न्यायमाथि गम्भीर प्रश्न खडा गरेको छ ।















