२७ साउन, काठमाडौं । बागमती प्रदेशमा वित्तीय ठगी र बैंकिङ कसुरका घटनाहरू चिन्ताजनक रूपमा बढिरहेका छन् ।
पछिल्लो तीन वर्षको अवधिमा प्रदेशभरि यस्ता अपराधका उजुरी दोब्बरभन्दा बढी पुगेका छन्। यसको मुख्य कारण ‘चेक बाउन्स’ अर्थात् बैंक खातामा पर्याप्त रकम नभई चेक काट्ने प्रवृत्तिलाई मानिएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बैंकिङ कसुरको यो बढ्दो ग्राफलाई उजागर गरेको छ। आर्थिक वर्ष २०७/८० मा जहाँ ३८९ वटा बैंकिङ कसुरका घटना दर्ता भएका थिए, त्यो सङ्ख्या बढेर आर्थिक वर्ष २०८०/८१ मा ७३७ पुग्यो। यति मात्रै होइन, पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा त यो आँकडा ७७९ सम्म पुगेको छ। यसरी अपराध बढ्दै जाँदा पक्राउ पर्नेको सङ्ख्या पनि बढेको छ। तीन वर्षको अवधिमा १०७ जनाबाट बढेर १६९ जनासम्म पक्राउ परेका छन्।
चितवन केन्द्रबिन्दुमा
यस अपराधको केन्द्रबिन्दु भने चितवन जिल्ला बनेको छ। प्रदेशभर दर्ता भएका कुल मुद्दामा चितवन एक्लैले आधाभन्दा बढी हिस्सा ओगटेको छ। उदाहरणका लागि, गत आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा कुल ७७९ घटना हुँदा चितवनमा मात्रै ३२५ वटा घटना दर्ता भएका थिए, जुन प्रदेशभरको कुल सङ्ख्याको ४० प्रतिशतभन्दा बढी हो ।
प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाका अनुसार, ‘चेक बाउन्स’ बाहेक नक्कली हस्ताक्षर, फर्जी कागजात प्रयोग गरेर ऋण लिने र मोबाइल वालेट ह्याक गर्नेजस्ता अपराध पनि बढेका छन् । उनले डिजिटल कारोबारमा बढेको पहुँचसँगै अपराधको प्रकृति पनि फेरिएको र जनचेतनाको कमीले गर्दा धेरै मानिस ठगीमा परिरहेको बताए ।
यस बढ्दो अपराधलाई नियन्त्रणमा लिन प्रहरीले चेतनामूलक कार्यक्रमहरू चलाए पनि यसको रोकथामका लागि सर्वसाधारणको सचेतना र अझै प्रभावकारी प्रणालीको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् ।















