२७ साउन,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पताल प्रशासनको गम्भीर लापरवाहीको आरोप लगाउँदै अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन्।
मृत्यु हुनेमा हत्याको अभियोगमा वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसिया निवासी २८ वर्षीय राहुल साह तुहारा रहेका छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८:५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०:३० बजे उनको मृत्यु भएको हो। डा. सिंहले तुहारालाई अस्पताल ल्याउँदा उनको मुखबाट रगत र फिज आइरहेको तथा रक्तचाप (BP) शून्य रहेको जानकारी दिए।
डा. सिंहका अनुसार, तुहारालाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो। अस्पतालमा तत्काल आईसीयू बेड खाली नभएपछि बाहिर अन्यत्र लैजान सुझाव दिइएको थियो र तुहाराको परिवारले एम्बुलेन्ससमेत बोलाएका थिए। तर, लगत्तै एउटा आईसीयू बेड खाली भएपछि उनलाई त्यही बेडमा राखेर उपचार सुरु गरियो। उपचार सुरु भएको करिब १५ मिनेटमै, अर्थात् १०:३० बजे, तुहाराको मृत्यु भएको सिंहले बताए।
यता, मृतकका आफन्तहरूले भने अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको गम्भीर आरोप लगाएका छन्। यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरिरहेका छन्। घटनाले वीरगञ्जमा तनावको स्थिति सिर्जना गरेको छ।















