प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ साउन,वीरगञ्ज । जनकपुरमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र कानुन व्यवसायीहरूबीच भएको विवादले उग्र रूप लिँदा दर्जनौँ पत्रकार घाइते भएका छन्। गुठीको जग्गालाई लिएर भएको विवादमा कानुन व्यवसायीहरूले पत्रकारहरूमाथि नै आक्रमण गरेपछि यो घटना भएको हो।

झडपमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारीसहित दर्जनौँ पत्रकारहरू घाइते भएका छन्। महासंघका अध्यक्ष श्याम बन्जाराका अनुसार, पत्रकार सम्मेलनपछि वकिलहरूको ठूलो समूहले पत्रकारहरूमाथि आक्रमण गरेको थियो।

आक्रमणबाट महासंघका महासचिव शैलेन्द्र महत्तो क्रान्तिको दुई–तीन ठाउँमा खुट्टा भाँचिएको छ। यस्तै, पत्रकार दिवाकर रायको अवस्था अत्यन्तै गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। उपाध्यक्ष ज्योति झा, पत्रकार अनिल कुमार अनल र अन्य आधा दर्जनभन्दा बढी पत्रकारहरू पनि घाइते भई अस्पतालमा उपचाररत छन्। अध्यक्ष श्याम बन्जारा स्वयं पनि घाइते भएका थिए, तर उपचारपछि उनी घाइते पत्रकारको उपचार व्यवस्थापनमा जुटेका छन्।

विवादको मूल कारण

यस विवादको जड श्री राम मन्दिर गुठीको स्वामित्वमा रहेको ४ कट्ठा जग्गा हो। नेपाल पत्रकार महासंघले सो जग्गा भवन निर्माणका लागि लिजमा लिएको थियो। महासंघले यो सम्झौता कानुनसम्मत भएको दाबी गरेको छ। तर, सोही जग्गालाई आफ्नो गाडी पार्किङ गर्ने स्थानको रूपमा प्रयोग गर्दै आएका नेपाल बार एसोसिएसनका सदस्यहरूले महासंघको काममा अवरोध सिर्जना गर्दै आएका थिए।

आज महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो जग्गा प्राप्ति विधिसम्मत रहेको जानकारी गराएकै बेला कानुन व्यवसायीहरूले आक्रमण गरेको अध्यक्ष बन्जाराले बताए।

अध्यक्ष बन्जाराले वकिलहरूले वार्ता गर्ने कुरा गरे पनि ६२ जनाले मुद्दा हाल्न नाम लेखाएको भन्दै उनीहरूको नियतमाथि प्रश्न उठाए। उनले कानुन व्यवसायीहरूको यस व्यवहारलाई ’अराजकताको पराकाष्ठा’ र ’म नै सर्वेसर्वा’ भन्ने मानसिकताको उपज भएको आरोप लगाएका छन्।

बन्जाराले घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराइएको र हाल घाइतेहरूको उपचार नै प्रमुख प्राथमिकतामा रहेको बताए। उपचारपछि महासंघले यस विषयमा थप छलफल गरी आवश्यक कदम चाल्ने उनको भनाइ छ।


सम्बन्धित समाचार