२८ साउन,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान भएको आगलागीबाट स्थानीय राजु रामको घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ।
बिहान सवा ५ बजे भैँसीका लागि खोले पकाउन बालिएको चुलोको आगोबाट सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपातलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
यसका साथै, गोठभित्र रहेका पाडा र बाख्रा पनि जलेर मरेका छन्। आगलागी नियन्त्रणमा लिने प्रयास गर्दा घरधनी राजु राम पनि घाइते भएका छन्। उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ।















