२८ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष पदमा रन्जिता श्रेष्ठ नै रहने भएकी छिन् ।
निर्वाचन आयोगले लालवीर चौधरीलाई पार्टी अध्यक्षको रूपमा मान्यता नदिने निर्णय गरेको हो । पार्टीभित्रको एक समूहले राष्ट्रिय भेला आयोजना गरी लालवीर चौधरीलाई अध्यक्ष घोषणा गर्दै आयोगमा अद्यावधिकका लागि निवेदन दिएको थियो। तर, आयोगले राजनीतिक दलसम्बन्धी कानुन र नाउपाको आफ्नै विधानअनुसार उक्त भेला वैधानिक नभएको ठहर गर्यो।
आयोगले लालवीर र रन्जिता दुवैलाई पत्र लेखेर आफ्नो दाबी पेस गर्न लगाएको थियो। दुवै पक्षको जवाफ, कानुन र पार्टीको विधानलाई आधार मान्दै आयोगले रन्जिता श्रेष्ठलाई नै आधिकारिक अध्यक्षको रूपमा मान्यता दिएको हो ।















