२८ साउन, वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारासहितका पदाधिकारीहरू र अन्य पत्रकारमाथि धनुषामा वकिलहरूले गरेको भौतिक आक्रमणको चौतर्फी निन्दा र विरोध भइरहेको छ।
जनकपुरधामस्थित गुठी संस्थानको ४ कठ्ठा जग्गा पत्रकार महासंघलाई कानुनी रूपमा लिजमा प्राप्त भइसकेकोमा सोही जग्गामा तारबार लगाउने क्रममा मंगलबार वकिलहरूको समूहले काममा अवरोध गर्दै आक्रमण गरेको हो।
नेपाल बार एशोसिएसन धनुषाका अध्यक्षको नेतृत्वमा आएका वकिलहरूले कुनै आधिकारिक आदेश वा सूचना नदिई एक्कासि हस्तक्षेप गर्नुका साथै शारीरिक हमला गरेको पत्रकार महासंघले जनाएको छ।
आक्रमणबाट महासंघका अध्यक्ष श्याम बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदारसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको छ।
घटनाको बारेमा जानकारी दिँदै महासचिव महतोले, “अध्यक्ष बञ्जारामाथि ज्यान मार्ने नियतका साथ हमला गरिएको थियो। अन्य पदाधिकारीलाई बचाउने क्रममा उनीहरू पनि आक्रान्त भए,” भने।
महासंघले पत्रकारिता स्वतन्त्रता, सञ्चारकर्मीहरूको अधिकार र कानुनी मर्यादामाथि वकिलहरूबाटै भएको यस्तो आक्रमण गम्भीर र दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीहरूलाई कारबाहीको माग गरेको छ।
घटनापछि पत्रकार महासंघसहित देशभरका पत्रकारहरू, नागरिक समाज र मानव अधिकारकर्मीहरूले वकिलहरूको व्यवहारको कडा विरोध जनाएका छन्।
महासंघले निकट भविष्यमा थप आन्दोलन र कानुनी कदम चाल्ने चेतावनी पनि दिएको छ।
















