Logo

२८ साउन,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका नेता अनिलकुमार झाले निष्क्रिय रहेको नेपाल सद्भावना पार्टीलाई पुनः सक्रिय बनाउने घोषणा गरेका छन्।

लोसपाबाट वरिष्ठ नेताको हैसियतमा राजीनामा दिएका झाले नेपाल प्रेससँग कुरा गर्दै नेपाल सद्भावना पार्टीको नेतृत्व गर्दै पार्टीलाई औपचारिक रूपमा ब्युँताएको जानकारी दिएका हुन्।“नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। मैले लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी ब्युँताएको हुँ,” उनले भने। निर्वाचन आयोगले पार्टी अद्यावधिक गरिसकेको पनि उनले पुष्टि गरे।

उनका अनुसार पार्टीको पुरानै झण्डा र चुनाव चिन्ह कायम रहनेछ। चुनाव चिन्ह “पाँच औँला देखिएको हात“ रहेको उनले जानकारी दिए।पार्टी संरचना निर्माणबारे छलफल भइरहेको बताउँदै उनले, “कमिटी गठनबारे अझै छलफलमा छौं। आयोगले अद्यावधिक गरेपछि बाँकी काम अघि बढ्छ।”

झाले पार्टीको आगामी रणनीति र योजना सार्वजनिक गर्न भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन्। नेपाल सद्भावना पार्टी मधेस केन्द्रीत पुरानो राजनीतिक दल हो, जसले मधेसी समुदायका हकअधिकारका सवालमा लामो समय संघर्ष गरेको इतिहास बोकेको छ।


सम्बन्धित समाचार