Logo

२८ साउन,वीरगञ्ज । जनकपुर वडा नं. ४ स्थित स्वर्गद्वारी नजिक गुठी संस्थानसँगको सम्झौताअनुसार प्राप्त जग्गामा तारबार गर्ने क्रममा पत्रकारहरूमाथि भएको सांघातिक आक्रमणप्रति मानव अधिकार आयोगसहित विभिन्न संस्थाहरूले चासो देखाएका छन्।

नेपाल बार एशोसिएसन जनकपुरका केही पदाधिकारी र अधिवक्ताहरूको समूहद्वारा गरिएको भनिएको उक्त आक्रमणमा संलग्न पक्ष र पीडित पत्रकारहरूको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको हो।

आयोगको तर्फबाट मानव अधिकार अधिकृत द्वय किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय पुगेर घटनाबारे विस्तृत जानकारी लिएको छ।

पीडित पत्रकारहरूका अनुसार आक्रमणमा महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ को खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको, र दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ।

त्यसैगरी, पत्रकार महिला र महासंघकी उपाध्यक्ष ज्योति झा तथा पत्रकार बिनीता यादवमाथि लैङ्गिक संवेदनशीलता विपरीत दुव्र्यवहार र आपत्तिजनक स्थानमा हातपात गरिएको गुनासो महासंघले आयोगलाई जनाएको छ।

नेपाल पत्रकार महासंघले यो घटना प्रेस स्वतन्त्रता र पत्रकारको हक–अधिकारमाथिको गम्भीर हमला भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै आयोगलाई सत्यतथ्य छानबिन र आवश्यक सिफारिस गर्न आग्रह गरेको छ।

घटनाको स्थलगत अनुगमनमा रहेका पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, महासचिव हदिस खुददार, केन्द्रीय सदस्य राजेश कुमार कर्ण, र धनुषा शाखाका अध्यक्ष पुरण गुप्तासहितको टोलीको उपस्थिति थियो।

यसैबीच, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोलीले पनि घटनाबारे जानकारी लिएको छ।

यसअघि आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, इन्सेक मधेस प्रदेश प्रमुख राजु पासमान लगायतको टोलीले प्रादेशिक अस्पताल जनकपुरमा पुगेर घाइते पत्रकारहरूको स्वास्थ्य अवस्था बुझ्दै घटना बारेमा आवश्यक विवरण संकलन गरेका थिए।

मानव अधिकार आयोगका प्रतिनिधिहरूले सबै पक्षबाट संकलित विवरण र अनुसन्धानका आधारमा छिट्टै औपचारिक प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घटनापछि पत्रकारिता क्षेत्र, मानव अधिकारकर्मी र नागरिक समाजबाट दोषीमाथि छिटो कारबाहीको माग गर्दै विरोधको स्वर चर्किएको छ।


सम्बन्धित समाचार