प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ साउन, काठमाडौं । गुण्डा नाइकेको उपनामले चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनले आफूलाई गुण्डागर्दीमा नभई समाजसेवामा लागेको बताएका छन्। गत साउन १५ गते जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनीसहित १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

न्यायाधीश खिमानन्द भुसालको इजलासमा बयान दिँदै चक्रे मिलनले आफू नेकपा एमालेको गोरखास्तरीय पार्टी सदस्य भएको र विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको बताएका छन्। उनले भने, “पक्राउ परेका अन्य व्यक्तिहरूले मेरो सामाजिक कार्य मन पराएर जन्मदिनको शुभकामना दिन आएका थिए।”

उनका अनुसार, उनले महाराजगञ्जको होटल साम्बालामा मध्यरातमा जन्मदिन मनाउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। उनले जन्मदिनको अवसरमा सामान्य रमाइलो मात्र गरेको, तर प्रतिवेदनमा उल्लेख भएजस्तो कुनै अभद्र वा आपराधिक कार्य नगरेको दाबी गरेका छन्। उनले भने, “ठूलो संख्यामा युवाहरूलाई भेला गरी जन्मदिन मनाउनु नै मेरो गल्ती भयो।”

प्रहरीले घटनाको मुख्य व्यक्ति भन्दै उनीसहित ४७ जनालाई पक्राउ गरेको थियो, जसमध्ये २८ जनालाई भने छाडिएको थियो। बाँकी १९ जनाविरुद्ध भने पटके कसुरदारको आरोपमा मुद्दा चलाइएको छ।


सम्बन्धित समाचार
भर्खरै