Logo

२८ साउन,वीरगञ्ज । अनलाइन व्यापार तथा क्रिप्टोकरेन्सीमा लगानी गराउँछु भन्दै सर्वसाधारणलाई लाखौँ रुपैयाँ ठगी गर्ने ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान वीरगन्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट वर्णवाललाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयले जनाएको छ। पीडितहरूको उजुरीपछि प्रहरीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, वर्णवालले नेटवर्किङ व्यापार, क्रिप्टोकरेन्सी र डिजिटल प्लेटफर्ममार्फत ठूलो आम्दानी हुने भन्दै सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले अनलाइनमार्फत ‘अल्ट्रा अभियान’को नाममा प्रलोभन देखाएर ठगी गरेको पाइएको छ।

दीपेश वर्णवालले यसअघि पनि ‘अभियान डिजिटल वल्र्ड’, ‘कबाड पसल’, ‘ऋषि आदिवासी तेल’ जस्ता ब्रान्डमार्फत व्यापार सञ्चालन गरी धेरै व्यक्तिलाई आर्थिक रूपमा डुबाएको आरोप लागेको छ। पीडितहरूले भनेका छन् कि उनले छोरा योगेश वर्णवालसँग मिलेर उल्टै धम्की दिने गर्थे, जसका कारण लामो समयसम्म उनीमाथि कारबाही हुन सकेको थिएन।

यसअघि पनि नारायणघाटमा ठगीसम्बन्धी मुद्दामा वर्णवाल पक्राउ परेका थिए। स्थानीयहरूले करिब १० वर्षअघि कमजोर आर्थिक अवस्था भएका वर्णवाल छोटो समयमा अस्वाभाविक रूपमा धनी बनेको भन्दै सम्पत्ति शुद्धताको छानबिन गर्न माग गरेका छन्।

वीरगन्ज–१०, रानीघाटका स्थायी बासिन्दा रहेका वर्णवाल अहिले विभिन्न स्थानमा डेरा सर्दै आएको प्रहरीले जनाएको छ। उनलाई नेपालमा अनधिकृत नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीका माफियाका रूपमा चिनिँदै आएको छ।

प्रहरीले हाल उनलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। साथै, अन्य पीडितहरूलाई पनि उजुरी दिन प्रहरीले आग्रह गरेको छ।


सम्बन्धित समाचार