२९ साउन, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित त्रिभुवन राजपथसँग जोडिएको रातो पुल नजिकको सार्वजनिक जग्गा भूमाफियाको निशानामा परेको छ।
स्थानीयका अनुसार, रातारात व्यक्तिहरू आएर जग्गा कब्जा गर्ने नियतले घर, पक्की संरचना निर्माण गर्ने, तारबार हाल्ने जस्ता गतिविधि तीव्र भएका छन्। योजनाबद्ध रूपमा लाखौँ रुपैयाँको चलखेल गरी केही व्यक्तिहरूले सो जग्गा सर्वसाधारणसँग खरिद–विक्री गर्न थालेका छन् ।
यसक्रममा केही राजनीतिक दलहरूले आफ्नो ‘भोट बैंक’ बढाउने उद्देश्यले अतिक्रमणलाई मौन समर्थन वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा बढावा दिएको देखिएको छ।पहिले २–३ वटा फाटफुट घर देखिने सो क्षेत्रमा अहिले धमाधम पक्की संरचना निर्माण भई बस्ती बन्दै गएको छ ।
अतिक्रमणको होडबाजी बढ्दै गएपछि जीतपुरसिमरा–३ वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखी गैरकानुनी अतिक्रमण रोक्न तथा जग्गा संरक्षण गर्न आग्रह गरेको हो।वडाका कार्यवाहक अध्यक्ष माया बि.क.को हस्ताक्षरित पत्रमा त्रिभुवन राजपथसँग जोडिएको रातो पुलको उत्तर–पश्चिमतर्फ खोला उकास नजिकको सार्वजनिक जग्गामा राति छाप्रो निर्माण गरी अतिक्रमण भइरहेका घटना उल्लेख छन् ।
वडाले भविष्यमा सार्वजनिक पार्क वा अन्य संरचना बनाउनका लागि तत्काल संरक्षणको आवश्यकता औंल्याएको हो।तर, जग्गा संरक्षणको सवालमा न जिल्ला प्रशासन कार्यालय बाराले कुनै प्रभावकारी कदम चालेको देखिन्छ, न जीतपुरसिमरा उपमहानगरपालिकाले नै। जसका कारण अतिक्रमणको जोखिम अझ बढ्दै गएको र राजनीतिक स्वार्थका कारण स्थिति जटिल बन्दै गएको स्थानीयको गुनासो छ।















