२९ साउन, काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन प्याब्सन)ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विधेयकका प्रावधानहरूले निजी विद्यालयहरूको सञ्चालनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उनीहरूले देशभरका विद्यालयहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना मागहरू सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिइएको छ ।
आन्दोलनका कार्यक्रमहरू
आज पालिकाका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइँदैछ भने भोलि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने तयारी छ ।
भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। भदौ २ गते सम्बन्धित क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने र सुझाव संकलनका लागि राष्ट्रिय परिषद्को भर्चुअल बैठक बस्नेछ। आन्दोलनलाई थप प्रभावकारी बनाउन भदौ ३, ४, र ५ गते पालिका, जिल्ला र प्रदेशस्तरमा तयारी बैठकहरू गरिनेछन् ।
साथै, भदौ ६ र ७ गते केन्द्र र प्रदेशस्तरका सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने प्याब्सन र एन प्याब्सनले जनाएका छन्।















