प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ साउन,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अनुदानको मल लुकाएर कालोबजारी गर्ने गिरोहमाथि कडा कारबाही सुरु गरेका छन्। यसै क्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिका–३, कटैयाबाट ठूलो मात्रामा अनुदानको रासायनिक मल बरामद गरिएको छ।

विशेष सूचनाको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा कटैयास्थित युनुस फकिरको घरबाट २६ बोरा डीएपी, १२ बोरा पोटास र १२ बोरा युरिया गरी कुल ५० बोरा मल बरामद भएको हो।

यसैगरी, सोही स्थानमा रहेको ‘महमद मल खाद भन्डार’ का सञ्चालक साह महमद अन्सारीको घरबाट ९ बोरा डीएपी, १२ बोरा पोटास र ११४ बोरा बीएसपी (फास्फेट मल) बरामद गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

बरामद गरिएको मल सरकारी अनुदानमा आएको र त्यसलाई तोकिएको भन्दा बढी मूल्यमा बेच्ने उद्देश्यले लुकाइएको अनुगमन टोलीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। किसानलाई सहज रूपमा मल उपलब्ध गराउन र कालोबजारी रोक्न प्रशासनले यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।

 


सम्बन्धित समाचार