प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ साउन,वीरगञ्ज । वीरगञ्ज कारागारमा वर्षौं अघिदेखि तोकिएको चिकित्सकको दरबन्दी खाली रहँदा कैदीबन्दीको स्वास्थ्य सेवा चरम संकटमा परेको छ। कारागारमा सातौं वा आठौं तहको एक जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हालसम्म त्यो पदमा कोही नियुक्त नगरिएको खुलेको छ।

हाल कारागारमा एक जना ’हेल्थ असिस्टेन्ट’ मार्फत मात्र स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ, जसले यस्तो ठूलो संख्यामा रहेका कैदीबन्दीको उपचारको जिम्मेवारी सम्हाल्न कठिन भइरहेको छ।

स्वास्थ्य सेवाको बेवास्ता विषय फेरि चर्चामा आएको छ, जब वीरगञ्ज महानगरपालिका–२५ का राहुल साह तुरहाको गत मंगलबार व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृत्युपछि कारागारमा नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको व्यवस्था अपरिहार्य रहेको विषय उजागर भएको हो।

१,३१० कैदीबन्दीमा मात्र हेल्थ असिस्टेन्ट
कारागार प्रमुख खिमराज भुसालका अनुसार मेडिकल अधिकृतको दरबन्दी अनुसार नियुक्ति गराउन सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ। तर, हालसम्म कुनै उपलब्धि छैन।

वीरगन्ज कारागारमा हाल
१,३१० जना कैदी र थुनुवा रहेका छन्,जसमा ५ जना महिला कैदी, ४२ जना महिला थुनुवा र २ जना आश्रित बालिका छन्।
त्यस्तै, १९९ जना विदेशी नागरिक पनि कैदी÷थुनुवाको रूपमा राखिएका छन्।

कानुनको उल्लंघन
कारागार ऐन, २०७९ अनुसार, ५०० जनाभन्दा बढी कैदीबन्दी रहने कारागारमा अस्पतालको व्यवस्था हुनु अनिवार्य छ। सो अनुसार तोकिएको शैयासहितको अस्पताल र आवश्यक जनशक्ति राखिनुपर्ने भए पनि वीरगन्ज कारागारमा यस्तो सुविधा छैन।

त्यसैगरी, ५०० भन्दा कम कैदीबन्दी रहने कारागारमा कम्तीमा एक स्वास्थ्य चौकी अनिवार्य भनिए पनि त्यसको पनि कार्यान्वयन भएको देखिंदैन।

समाधानको खाँचो
कारागारमा रहेका विदेशी नागरिक, महिला, बालबालिका र दीर्घरोगीहरूका लागि स्वास्थ्य सेवा सहज, गुणस्तरीय र नियमित हुन आवश्यक छ। तर हालको अवस्थाले कानुनी व्यवस्था, मानव अधिकार र नैतिक जिम्मेवारी तीनै पक्षमा गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित मन्त्रालय र कारागार व्यवस्थापन विभागले यथाशीघ्र मेडिकल अधिकृतको पद पूर्ति गरी स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ।

 


सम्बन्धित समाचार
भर्खरै