२९ साउन, काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क (उपभोग दस्तुर) तोकेको छ। साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सवारी साधनको प्रकारअनुसार फरक–फरक दस्तुर लाग्नेछ ।
सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिनुभएको हो। उहाँले सुरुङमार्गमा मोटरसाइकल भने चलाउन नपाइने स्पष्ट पार्नुभएको छ। कार र भ्यानलाई काठमाडौंतिर प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिर निस्कँदा ६० रुपैयाँ लाग्नेछ।
मिनी बस र मिनी ट्रकस् काठमाडौंतिर प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिर निस्कँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रक काठमाडौंतिर प्रवेश गर्दा २५० रुपैयाँ र बाहिर निस्कँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
हेभी इक्विपमेन्ट भारी उपकरण काठमाडौंतिर प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिर निस्कँदा २५० रुपैयाँ लाग्नेछ। हाल नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको जनाइएको छ।















