Logo

२९ साउन, काठमाडौं । अमेरिकी सहयोग नियोग (एमसीसी) को अनुदानमा नेपालमा सञ्चालित परियोजनाले पुनः गति लिएको छ।

एमसीसीसँग सम्बन्धित निकाय एमसीए–नेपालले हालै दुईवटा महत्वपूर्ण विद्युत प्रसारण लाइन निर्माणका लागि २१ अर्ब १७ करोड रुपैयाँका ठेक्काहरूमा हस्ताक्षर गरेको छ । यी परियोजना अन्तर्गत १ सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण र सञ्चालन लगायतका कामहरू गरिनेछ ।

ठेक्कामा के–के समेटिए ?

रातमाटे–नयाँ दमौली ४०० केभी प्रसारण लाइन निर्माणको जिम्मा एन्जेलिक स्किपर संयुक्त उपक्रमले पाएको छ भने नयाँ दमौली–बुटवल ४०० केभी प्रसारण लाइनको ठेक्का वाइबा–सलासर संयुक्त उपक्रमसँग भएको छ । यी दुई प्रसारण लाइनको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर रहेको छ।

परियोजनाको पृष्ठभूमि

एमसीसी परियोजना २०८० साल भदौ १३ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो र यसको निर्माण कार्य ५ वर्षभित्र पूरा गर्नुपर्नेछ । एमसीसीले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १९ करोड ७० लाख डलर योगदान गर्नेछ। यसअघि दुई वर्षअघि बोलपत्र आह्वान गरिएकोमा लागत अनुमानभन्दा ६६ प्रतिशत बढी प्रस्ताव आएपछि त्यो प्रक्रिया रद्द गरिएको थियो  । अहिले दोस्रो पटक आह्वान गरिएको बोलपत्रबाट यी ठेक्का सम्झौता भएका हुन् । तीन खण्डमा बोलपत्र आह्वान गरिएकोमा लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा प्रसारण लाइनको ठेक्का भने अझै लाग्न बाँकी छ ।

यी ठेक्का सम्झौताहरूसँगै नेपालमा विद्युत् प्रसारण क्षमता बढ्ने, सीमापार ऊर्जा व्यापारलाई प्रोत्साहन मिल्ने र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले नेपाल र अमेरिकाबीचको सहकार्यलाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार