२९ साउन,वीरगञ्ज । मधेसको पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्था ठाकुरराम बहुमुखी क्याम्पस ३५ दिनदेखि नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेको छ। क्याम्पस प्रमुख रणजित कुमार यादव विगत ३५ दिनदेखि क्याम्पसमा अनुपस्थित रहेको पुष्टि विद्यार्थी तथा कर्मचारीहरूले गरेका छन्।
यद्यपि यादवले आफूले राजीनामा दिएको जानकारी केही कर्मचारी र विद्यार्थीहरूलाई दिएको बताइएको छ, तर त्रिभुवन विश्वविद्यालय स्रोतका अनुसार उक्त राजीनामा स्वीकृत भएको छैन। न त क्याम्पसमा नयाँ प्रमुख तोकिएको छ, न त निमित्त प्रमुख नै नियुक्त गरिएको छ।
परीक्षा सञ्चालनमा समेत असर
यहीबीच ठाकुरराम क्याम्पसमा बीआइटी र बिएस्सी सीएसआईटी पाठ्यक्रमअन्तर्गतको परीक्षा सञ्चालनमा रहेका छन्। त्रिविले क्याम्पस प्रमुखलाई केन्द्राध्यक्ष तोकेर पत्र पठाएको भए पनि उनी उपस्थित नभएपछि परीक्षा व्यवस्थापनमा अव्यवस्था देखिएको छ। हाल बीआइटी विभाग प्रमुख सञ्जय दास सहायक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेर परीक्षा संचालन गरिरहेका छन्।
ठाकुरराम क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पनि पुरानो शैक्षिक संस्था हो, जहाँ अध्ययन गरेका विद्यार्थीहरू देशका प्रधानमन्त्रीदेखि लिएर मन्त्री, प्रशासक र समाजका अगुवा बनिसकेका छन्। तर, पछिल्लो समय क्याम्पसको अवस्था दिनप्रतिदिन खस्किँदो अवस्थामा पुगेको शैक्षिक वृत्तमा चिन्ता व्यक्त गरिएको छ।
राजनीतीकरणले थप बिगारियो अवस्था
क्याम्पसमा नेतृत्व चयनमा राजनीतिक भागबण्डा हुने गरेको र त्यसकै कारण प्रभावकारी नेतृत्व नआएको विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको आरोप छ। शैक्षिक सुधार र आचरण सुधारमा कसैको ध्यान नपुग्दा मधेसको यो प्रमुख शैक्षिक धरोहरको साख नै खस्किएको बताइन्छ।
क्याम्पस प्रमुखको अनुपस्थितिले दैनिक प्रशासनिक र शैक्षिक कार्य ठप्प हुन थालेपछि विद्यार्थी संगठनहरू आन्दोलित बनेका छन्। स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु र नेपाल विद्यार्थी संघ (नेविसंघ) ठाकुरराम इकाइ समितिले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखको तत्काल नियुक्तिको माग गरेका छन्।
त्रिविले नयाँ क्याम्पस प्रमुख नपठाएसम्म तालाबन्दी जारी रहने चेतावनी उनीहरूले दिएका छन्।
क्याम्पसको समस्याका सम्बन्धमा क्याम्पस प्रमुख रणजित प्रसाद यादवसँग सम्पर्क गर्न खोज्दा मोबाइल सम्पर्कविहीन रहेको छ।















