Logo

जम्मू–कश्मीरको किश्तवाड जिल्लास्थित पड्डर सब–डिभिजनको चशोटी गाउँमा बिहीबार दिउँसो ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) को घटना भएको छ । पहाडबाट आएको बाढी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यस घटनामा १२ जनाको मृत्यु भएको छ र उनीहरूको शव पनि भेटिएको छ । २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् भने मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यो घटना हुँदा हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएका थिए, जुन यात्राको पहिलो बिसौनी हो । क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो । बाढीले तीर्थयात्रीहरूका बस, टेन्ट, सामुदायिक भोजनालय ९लंगर० र पसलहरू बगाएको छ। मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् ।

हिमाचल प्रदेशमा पनि भारी वर्षा र बाढी

यसैबीच, हिमाचल प्रदेशका अधिकांश क्षेत्रमा बुधबार राति भारी वर्षा भएको छ । कोटखाईको खलटूनालाको पहाडमा बिहान ३ बजे बादल फाट्दा खोलामा माटोको ढिस्को आएको थियो ।  यसले एउटा पेट्रोल पम्प र ६ वटाभन्दा बढी गाडीहरू पुरेको छ। यद्यपि पम्पमा काम गर्ने कर्मचारीहरूले भागेर ज्यान बचाएका थिए ।

हिमाचल प्रदेशको कुल्लु र शिमलामा पनि बुधबार साँझ ४ ठाउँमा बादल फाटेको थियो । कुल्लुको श्रीखण्ड र तीर्थन भ्याली, साथै शिमला जिल्लाको फाचाको नान्टी गाउँ र काशापाठमा पनि बाढी आएको छ ।

हिमाचल प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो २४ घण्टामा वर्षा र यससँग सम्बन्धित घटनाहरूका कारण ३९६ वटा सडकहरू बन्द भएका छन् ।


सम्बन्धित समाचार