Logo

२९ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित गहवामाई मन्दिर नजिकै रहेको दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको टोलीले बिलबिजक बिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको हो ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोली बिहीबार दिउँसो करिब २ः३० बजे पसलमा पुगेपछि वीरगन्जका सुनचाँदी व्यवसायी तथा कालीगढहरूले विरोध जनाएका थिए । उनीहरूले प्रहरीको कार्यविधि विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रहरी टोलीले करिब तीन घण्टा पसल सञ्चालक दीपक सर्राफसँग सुनचाँदी खरिद–बिक्रीमा प्रयोग भएका बिलबिजकहरू मागेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बिलबिजकहरूमा केहि अनियमितता भेटिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगञ्जका कर्मचारीहरूलाई बोलाएर बिलबिजकहरू जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले भने, “खरिद गरिएको सुनको मात्रा बिक्री भन्दा बढी देखिएको छ, तर पसलमा सोही अनुसारको सुन मौज्दात छैन । त्यसैले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयलाई जिम्मा लगाइएको हो ।”

तर, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले प्रहरीको यस्तो छापा गैरकानुनी भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, “बिलभौचरको छानबिन र अनुसन्धानको जिम्मेवारी राजश्व कार्यालयको हो । प्रहरीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर पसलमा छापा मारेको छ । सूचना पाएमा सम्बन्धित निकायहरूसँग समन्वय गरेर मात्र छापा मार्नु पथ्र्यो । यो कार्यप्रणालीमा प्रहरीले अत्याचार गरेको छ ।”

प्रहरी र व्यवसायीहरूबीच देखिएको विवादपछि आन्तरिक राजश्व कार्यालयले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोही अनुसन्धानमा सहकार्य गरिरहेको बताइएको छ ।

 


सम्बन्धित समाचार